कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

युकेमा ‘याक्थुङ आर्ट एण्ड क्राफ्ट वर्कसप’ सम्पन्न

किरात याक्थुङ चुम्लुङ यूके अन्तर्गतको वेन्छा चुम्भोद्वारा आयोजित ‘याक्थुङ आर्ट एण्ड क्राफ्ट वर्कसप’ युकेको अल्डर्सटमा सम्पन्न भएको छ। युवा पुस्तालाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यशाला ९ मे २०२६ शनिबार सम्पन्न भएको हो।

युकेमा बसोबास गर्दै आएका याक्थुङ लिम्बु युवा तथा समुदायबीच अन्तरक्रिया, भेटघाट तथा याक्थुङ मुन्धुमिक परम्परागत सांस्कृतिक कला र हस्तकलाको संरक्षण, अभ्यास, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूके रसमोर शाखा का अध्यक्ष थान नाल्बोको प्रमुख आतिथ्यता तथा याक्थुङ इतिहास तथा मुन्धुमका खोजकर्ता येहाङ लाओती को विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रम वेन्छा चुम्भोकी थोसोदिम्बा हाङ्मा लाओतीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको शुभारम्भ चुम्भोकी उपाध्यक्ष दिपा योङ्हाङको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन सचिव सुरेन्द्र थेबेले गरेका थिए। कार्यशालामा याक्थुङ लिम्बु सांस्कृतिक कला तथा हस्तकला अन्तर्गत सिलाम साक्मा, लायेप, खेसे, या:बुन तथा साक्च्योङ बनाउन प्रशिक्षण दिइएको थियो। साथै याक्थुङ चाङ्वान पहिरन ‘थाका’ सम्बन्धी मुन्धुमिक तथा ऐतिहासिक पृष्ठभूमिबारे पनि प्रस्तुति गरिएको थियो। सिलाम साक्माको अर्थ लिम्बु भाषामा ‘मृत्युको बाटो थुन्नु’ भन्ने रहेको बताइएको छ।

‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ थुन्नु हो। त्यस्तै ‘लायेप’ को अर्थ जून र ‘खेसे’ को अर्थ तारा रहेको जानकारी दिइएको थियो। यी चिन्हहरू परम्परागत याक्थुङ लिम्बु घरहरूमा सजावटका रूपमा प्रयोग हुँदै आएको र पछिल्लो समय सांस्कृतिक पहिचानको खोजीसँगै पुनः प्रयोगमा आउन थालेको जनाइएको छ। तालिममा थाका, लायेप र या:बुन सम्बन्धी सहजीकरण येहाङ लाओती ले गरेका थिए भने सिलाम साक्मा निर्माणसम्बन्धी प्रशिक्षण फरिदा येङ्देनले दिएकी थिइन्।

त्यस्तै खेसे (तारा) र साक्च्योङ सम्बन्धी प्रयोगात्मक तालिम टङ्क येन्देनले दिएका थिए भने या:बुन सम्बन्धी सहजीकरण सबिता सन्यक लिम्बुले गरेकी थिइन्। युकेको व्यस्त समयतालिकाबीच पनि विद्यार्थी तथा युवाको समयलाई मध्यनजर गर्दै सप्ताहान्तमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न उमेर समूहको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। आगामी कार्यक्रमहरूमा पनि यस्तै सहभागिताको अपेक्षा गरिएको बताइएको छ।

माबोहाङ ‘निराज’ बेलायत

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार