कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

‘निर्मलाका हत्यारा पत्ता लगाए प्रहरी प्रमुख खनाललाई ५० किलोको माला’

काठमाडों, १९ असोज । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना अझै पेचिलो बनिरहेको छ ।

घटनाका दोषी पत्ता लगाउनु पर्ने नागरिकको दवाव र पटक–पटकको अनुसन्धान र छानविन फेल खाइरहेका बेला प्रहरीका लागि समेत निर्मला पन्त हत्याको घटना टाउको दुखाइको विषय बनिरहेको छ ।

यसै सन्दर्भमा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाए प्रहरी संगठनका प्रमुख आइजीपी सर्वेन्द्र खनाललाई ५० किलोको माला लगाई दिने घोषणा गरेका छन् ।

सत्तारुढ दलको भ्रातृ संगठनका अध्यक्ष समेत रहेका तामाङले आइजीपी खनालको बर्खास्तीबारे आएका चर्चाको प्रसङ्ग कोट्याउँदै अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेकोमा विद्यार्थी संगठनहरु मात्रै नभई धेरै नेपाली जनता रुष्ट भएको बताएका छन् ।

काठमाडौंमा शुक्रबार भएको साक्षात्कारमा अध्यक्ष तामाङले न्याय दिने विषय सबैको चासोको विषय भएको भन्दै जनताको न्याय प्रतिको आस्था र विश्वास मरे त्यसको जवाफदेही को हुन्छ ? भन्दै प्रश्न गरेका छन् । ‘हामीले नैतिक जिम्मेवारीको प्रश्न उठाएका हौ, आइजीपीलाई नैतिक जिम्मेवारी लिनुस् भन्न खोजेका हौ’, उनले भने ।

अध्यक्ष तामाङले आइजीपीको बर्खास्तीका सवालमा हामीसँग डुलेका र हिँडेका भरमा कसैलाई छुटाउन गएको भए आफूहरु सार्वजनिक जीवन त्याग्न तयार रहेको चुनौती दिए ।

‘प्रहरीको मनोबल गिराउने हाम्रो उद्देश्य होइन, निर्मलाका हत्यारा पत्ता लगाए हामी आइजीपीलाई ५० किलोको माला लगाउँछौ । पन्तको परिवारले न्याय पाओस्, हामी पुलिस अफिसरलाई रिङरोडमा रथयात्रा गराउँछौ । तर, न्यायको भीखलाई कमजोरी ठाने राम्रो हुँदैन’ उनको चेतावनी थियो ।

कार्यक्रममा अनेरास्ववियुका कार्यबहाक उपाध्यक्ष महेश बर्तोलाले निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धान चुकेको मात्रै नभई उक्त काण्डको पेरिफेरिमा प्रहरीकै संलग्नता भएको दावी समेत गरे ।

उनले सरकार भयरहित समाज निमार्णमा अघि बढेको बेला प्रहरीको नेतृत्वले नै निर्मला हत्या प्रकरणमा असहयोग गरेको समेत आरोप लगाए । ‘आइजीपीकै उदासिनताका कारण अपराध बढेको बढ्यै छन् । त्यसकारण आइजीपी खनाललाई तत्काल बर्खास्त गर्नुपर्छ’ बर्तौलाले भने ।

उनले सुन तस्कर खुलमखुला हिँडिरहेको भन्दै तस्करीको सेटिङ चलिरहेको तर, आइजीपी भने उदासीनता देखाइरहेको आरोप लगाए । कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महरले अपराधी संरक्षण गर्न सरकारनै लागिपरेको भन्दै सरकारकै कारण पीडितले न्याय नपाएको बताए ।

उनले ४५ भन्दा बढी घटनामा सरकार नै संलग्न भएको फेहरिस्त आफूसँग रहेको दाबी गर्दै आइजीपीलाई बर्खास्त गर्ने नभई प्रधानमन्त्री ओली नेतृत्वको सरकार नै असफल बनाएको बताए ।

बिहीबार अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामासहितको विद्याथीहरुको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेटेर निर्मला पन्तका हत्यारा पत्ता नलगाएको भन्दै आइजीपी खनालको बर्खास्ती गर्न माग गरेको थियो ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार