कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कास्की-२ मा ६४ र धरानमा ५९.४१ प्रतिशत मत खस्यो

काठमाडौं, १४ मंसिर । निकै चासोका साथ हेरिएको कास्की–२ र धरानको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सकिएको छ ।

पोखरा कास्की क्षेत्र–२ को उपनिर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । यद्यपी, मतपेटिका आउने क्रम जारी रहेकाले यही नै आधिकारिक तथ्यांक भने नभएको निर्वाचन आयोगले जनाएको छ ।

केही स्वतन्त्र पर्यवेक्षकहरुले कास्की निर्वाचनमा ४५ हजारको हाराहारीमा मत खसेको प्रारम्भिक जानकारी दिएका छन् ।

निर्वाचन आयोगले सूचना जारी गरि मतदान अधिकृतले निर्वाचन सामग्री बुझाएर दिएको तथ्यांक एकीकृत भएपछि मात्रै आधिकारिक विवरण आउने र यसको लागि अझै एक डेढ घण्टा लाग्ने जनाएको छ । कास्की क्षेत्र नम्बर २ मा ७१ हजार ८७१ मतदाता थिए ।

केही ठाउँमा बिष्फोटका घटना भए पनि निर्वाचनको क्रममा अप्रिय घटना भने घटेन । निर्वाचन आयोगले साँझ ७ बजे मतपेटिका आएसँगै सर्वदलीय बैठक राख्ने र बैठकपछि साँझ ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ । मत गणनास्थल जिल्ला समन्वय समितिको कार्यालयमा तारबार लगाएर मत गन्ने व्यवस्था गरिएको छ ।

यो चुनावमा दलसम्वद्ध र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । आइतबार बिहान अबेरसम्म मत गणनाको परिणाम आउने अपेक्षा छ । मतगणनास्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
धरानमा ५९.४१ प्रतिशत मत खस्यो
यस्तै धरान उपमहानगरपालिकाको रिक्त रहेको मेयर र धरान–७ को वडाध्यक्ष पदका लागि शनिबार मतदान सम्पन्न भएको छ ।

उपनिर्वाचनमा धरानमा ५५ हजार १६३ मतदाताहरुले मतदान गरेको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिएका छन् ।

यो पटक धरानमा कुल ९२ हजार ८५३ मतदाता थिए । मतदान शान्तिपूर्ण सम्पन्न भएको जनाइएको छ ।

धरानका २० वटै वडाबाट मतपेटिका संकलन गरिएपछि सर्वदलीय बैठक बसी शनिबार रातिदेखि नै मतगणना शुरु गर्ने मुख्य निर्वाचन अधिकृत उप्रेतीले बताएका छन् ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार