
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख नाघिसकेको छ ।
शुक्रबारसम्म संक्रमितको संख्या १६ लाख नाघिसकेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या १६ लाख ९९ हजार ८ सय १५ पुगेको छ । यस्तै १ लाख २ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।
चीनको वुहानबाट सुरु भएको यो महामारीको असर हाल सबैभन्दा बढी अमेरिकामा देखिएको छ । अमेरिकामा मात्रै संक्रमितको संख्या ५ लाख २ हजार भन्दा धेरै पुगेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा १८ हजार हजार ७ सय ४७ पुग्यो ।
स्पेनमा १ लाख ५८ हजार संक्रमित हुनुका साथै १६ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । इटालीमा भने १ लाख ४७ हजार संक्रमित हुनुका साथै १८ हजार भन्दा धेरैको मृत्यु भएको छ ।
फ्रान्समा संक्रमितको संख्या १ लाख २४ हजार पुगेको छ भने १३ हजार भन्दा धेरैको मृत्यु भयो ।
यस्तै जर्मनीमा १ लाख २२ हजार संक्रमित भएका छन् भने २ हजार ७ सय ३६ को मृत्यु भएको छ । युकेमा ७८ हजार भन्दा धेरै संक्रमित हुनुका साथै ८ हजार ९ सय भन्दा धेरैको मृत्यु भएको छ ।
१६६० को लण्डनको ‘प्लेग’सँग पनि यसलाई तुलना गर्न थालिएको छ । त्यसबेला १ लाख मानिसले ज्यान गुमाएका थिए । जुन सहरको एकतिहाइ जनसंख्या थियो । यस्तै १९१८ को महामारी ‘स्पेनिस फ्लू’सँग पनि यसलाई तुलना गरिएको छ । त्यसबेला भने २ करोड मानिसले ज्यान गुमाएका थिए ।
गत डिसेम्बरमा वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले प्रारम्भिक अवस्थामा चीनमा बढी क्षति पुर्याए पनि पछिल्लो समय अमेरिका र युरोपका विभिन्न देशमा यसले बढी असर पारेको छ ।
पछिल्लो समय संक्रमणबाट ६ दशमलब २५ प्रतिशत मृत्युदर देखिएको विज्ञहरुले बताएका छन् । स्पेन, इटाली, फ्रान्स, नेदरल्याण्ड, बेलायत, अल्जेरिया लगायत केही देशमा भने मृत्युदर १० प्रतिशत रहेको बताइएको छ ।
चीनमा भने प्रारम्भिक अवस्थामा ४४ हजार संक्रमितमाथि गरिएको एक अध्ययनले २ दशमलब ९ प्रतिशत मृत्युदर रहेको देखाएको थियो । उत्तर अमेरिकामा भने हाल ३० प्रतिशत मृत्युदर देखिएको छ ।
अर्न्नपूर्ण पोस्ट बाट



