
काठमाडौं, ३० चैत । छिमेकी देश भारतलाई पनि फैलँदो कोरोना भाइरसको संक्रमणले भयवित बनाउन थालेको छ ।
लकडाउन र स्वास्थोपचारका बावजुद पनि दिनहुँजसो कोरोनाका कारण ज्यान गुमाउने बढ्न थालेको र संक्रमण समेत तीब्र बन्न थालेपछि कोरोना संक्रमण नियन्त्रण भारतका लागि चिन्ताको विषय बन्न थालेको छ ।
भारतमा कोरोना भाइरस संक्रमणका कारण शनिबार एकै दिनमा ४० जनाको ज्यान गएको छ । भारतमा कोरोनाबाट ज्यान गुमाउने २८८ जना पुगिसकेको वल्र्डओमिटरले दावी गरेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याणका अनुसार कोरोनाको संक्रमणले भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४० जनाको मृत्यु भएको हो । यस अवधिमा मात्रै एक हजार बढी कोरोना संक्रमित पाइएका छन् ।
भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ७ हजार ४४७ पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ६४२ संक्रमित भने उपचारपछि निको भएको जनाइएको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमण महाराष्ट्रमा एक हजार ६६६ जनामा पुष्टि भएको छ भने ११० जनाको मृत्यु भएको छ ।
महाराष्ट्र पछि भारतमा सबैभन्दा बढी संक्रमित राजधानी दिल्लीमा शनिबार अपराह्नसम्म ९ सयभन्दा बढी देखिएका छन् । तीमध्ये १३ जनाको मृत्यु भइसकेको छ ।
भारतमा कोरोनाको पहिलो संक्रमण माघ २ गते देखिएको थियो । तीन महिनाभित्र संक्रमण पूरै भारतभरि फैलिसकेको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धमा मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् ।
भिडियो कन्फरेन्समार्फत भएको छलफलमा शनिबारको भिडियो संवादमा अधिकांश मुख्यमन्त्रीहरुले लकडाउनलाई कम्तीमा दुई साता लम्बाउनुपर्ने धारणा राखेका छन् । भारतमा मार्च गत २४ देखि लागू ३ साता लामो लकडाउन अप्रिल १४ पूरा हुँदैछ ।
नयाँ पेज बाट



