कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

विश्वभर मृत्तकको संख्या डेढ लाख नजिक

काठमाडौं, ५ बैसाख । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण मृत्यु हुने र संक्रमितको संख्या दिनहुँ थपिंदै गएको छ ।

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या करिब १० हजारले बढेर एक लाख ४५ हजार ४१० पुगेको छ । संक्रमितको संख्या पनि करीब ८० हजारले बढेर २१ लाख ७९ हजार ९०५ पुगेको छ । संक्रमितमध्ये पाँच लाख ४६ हजार ७४३ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ६ लाख ७७ हजार ५६ जना संक्रमित हुँदा ३४ हजार ५८० जनाको ज्यान गएको छ । त्यहाँ पछिल्लो समय दुई हजार १३७ जनाको मृत्यु भएको छ । स्पेनमा एक लाख ८४ हजार ९४८ जना संक्रमित हुँदा १९ हजार ३१५ जनाको मृत्यु भएको छ ।

यस्तै इटालीमा संक्रमितको संख्या एक लाख ६८ हजार ९४१ पुगेको छ । त्यहाँ २२ हजार १७० जनाको मृत्यु भएको छ । यी दुवै मुलुकमा कोरोना संक्रमित र मृत्यु हुनेको दर केही घटेको छ ।

यस्तै फ्रान्समा कोरोना भाइरसबाट एक लाख ६५ हजार २७ जना संक्रमित हुँदा १७ हजार ९२० जनाको ज्यान गएको छ । जर्मनीमा एक लाख ३७ हजार ६९८ जना संक्रमित भएका छन् । मृतकको संख्या ४ हजार ५२ पुगेको छ ।

बेलायतमा एक लाख ३ हजार ९३ जना संक्रमित छन् भने थप ८६१ जनाको ज्यान गएपछि मृतकको संख्या १३ हजार ७२९ पुगेको छ । छिमेकी देश भारतमा १३ हजार ४३० जना संक्रमित हुँदा ४४८ जनाको ज्यान गएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ६ हजार ९१९ पुग्दा १२८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा लकडाउन खोल्न ट्रम्पले ल्याए १८ बुँदे निर्देशिका
कोरोना भाइरस संक्रमण फैलिरहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक गरेका छन् ।

राज्यका गभर्नरहरुका लागि एक निर्देशिका जारी गर्दै ट्रम्पले तीन चरणमा लकडाउन खुला गर्ने रणनीति अघि सारेका छन् । १८ बुँदे निर्देशिकामा एउटा चरण कम्तीमा १४ दिनको हुने जनाइएको छ ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ६ लाख ७७ हजार ५६ जना संक्रमित भइसकेका छन् भने ३४ हजार ५८० जनाको मृत्यु भइसकेको छ । यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पले केही राज्यहरुमा यसै महिनादेखि लकडाउन हटाउन सक्ने बताएका छन् ।

दैनिक ब्रिफिङका क्रममा बिहीबार राष्ट्रपति ट्रम्पले भनेका छन् ‘हाम्रो युद्धको अर्को मोर्चामा अमेरिका फेरि खुला हुनेछ ।’ ट्रम्पले अगाडि भनेका छन् ‘अमेरिका खुला हुन चाहन्छ र अमेरिकन खुला हुन चाहन्छन्, देश बन्द राख्नु दिगो समाधान होइन ।’

उनले लामो समयको लकडाउनले सार्वजनिक स्वास्थ्यमा गम्भीर समस्या ल्याउने सम्भावना देखिएको बताएका छन् । उनका अनुसार लकडाउनले लागूऔषध दुव्र्यसनी, मदिरा प्रयोग, मुटुका बिरामी र अरु शारीरिक र मानसिक समस्या बढ्न थालेको छ ।

ट्रम्पले स्वस्थ नागरिकले निश्चित नियम पालना गरेर काममा फर्किने प्रस्ताव गरेका छन् । त्यस्तै स्वस्थ व्यक्तिले सामाजिक दूरी कायमै राखेर काममा सहभागी हुने र अस्वस्थ भए घरमै राख्ने ट्रम्पको रणनीति छ । लकडाउन खुला गर्नुलाई ट्रम्पले अमेरिकी अर्थतन्त्रमा ‘समयको सावधानी कदम’ भनेका छन् ।

बेलायतमा तीन हप्ताका लागि बढाइयो लकडाउन
बेलायतका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि कम्तीमा तीन हप्ताको लागि देशमा लकडाउन लम्ब्याउने घोषणा गरेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले लकडाउनमा छुट दिइए यो सार्वजनिक स्वास्थ्यका लागि खतरा हुनुका साथै अर्थव्यवस्थाका लागि पनि ठूलो खतरा हुनसक्छ ।

प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालिरहेका डोमिनिक राबले सरकारले अत्यधिक महत्वपूर्ण पाँच बुँदामा सुनिश्चित नभएसम्म लकडाउन नखोल्ने जानकारी दिएका छन् ।

एजेन्सी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार