
काठमाडौं, २७ बैशाख । भारतले दुई पक्षीय सम्झौता तोडेर नेपालको लिपुलेकमा सडक निर्माण गरेकोमा नेपालले आपति जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमप्रति दुःख व्यक्त गरेको छ ।
सन् १८१६ को सुगौली सन्धीअनुसार काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको सरकारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।
‘यो तथ्यलाई नेपाल सरकारले विगतमा निरन्तर दोहोर्याउँदै आएको छ र पछिल्लो पटक नयाँ राजनीतिक नक्सा जारी भएको सन्दर्भमा भारत सरकारलाई पठाइएको कुटनीतिक नोटमार्फत सन् २०१९ को नोभेम्बर २० मा पनि पुनः अवगत गराइएको थियो,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतले एकतर्फी रुपमा सडक बनाएर दुई देशबीच प्रधानमन्त्रीस्तरमा नै भएको आपसी छलफलबाट सीमाविवाद समाधान गर्ने समझदारीविरुद्ध रहेको मन्त्रालयले ठहर गरेको छ । मन्त्रालयले नेपालीभूमि भित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।
‘भारतले हिजो (शुक्रबार) नेपाली भूमी लिपुलेक हुँदै लिङ्गरोड उद्घाटन गरेको कुरा नेपाल सरकारले दुःखका साथ जानकारी पाएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।
नयाँ पेज बाट




