कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

विहानैबाट बाक्लिए गाडी, बढ्यो चहल-पहल, के खुल्छन्, के खुल्दैनन ?

काठमाडौं, २९ जेठ । सरकारले गएको ११ चैतदेखि देशभर लागू गरेको लकडाउनको मोडालिटीमा केही परिवर्तन गर्दै नागरिकको जनजीवन केहि सहज बनाई दिएको छ ।

सरकारले मोडालिटी केहि परिवर्तन गर्दै लकडाउन खुकुलो बनाएसँगै आज (बिहीबार) विहानैदेखि उपत्यकाका सडकहरुमा सवारीको संख्या बढेको छ भने मानिसको चहलपहल पनि शुरु भएको छ ।

बुधबार राति अरेर सकिएको मन्त्रिपरिषद् बैठकले जोखिम कम भएका क्षेत्रमा पसलहरु खुला गर्ने तथा मोटरसाइकल, निजी कारलगायतका सवारी साधनलाई जोर–विजोर नम्बरका आधारमा चलाउन दिने निर्णय गरेको हो । काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रमा बिहीबारदेखि जोर विजोर प्रणाली लागू गरेर सवारी साधन सञ्चालन हुनेछन् ।

सवारी साधनको पछाडिको अंक जोर भएका सवारी साधन जोर गते र विजोर भएका सवारी विजोर गतेका दिन चलाउन पाउने निर्णय सरकारले गरेको छ । कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी केन्द्रीय निकाय सीसीएमसीले निर्धारण गरेको प्रक्रिया पूरा गरी व्यवसाय पनि सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ ।

यससम्बन्धी बिस्तृत निर्णय भने आज (विहीबार) सार्वजनिक गरिने सरकारका एक मन्त्रीले जानकारी दिएका छन् । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापार खुकुलो गर्ने निर्णय पनि सरकारले गरेको छ ।

के–के खुल्छन्, के खुल्दैनन् ?
सरकारले लकडाउन केहि खुकुलो बनाए पनि कोरोना संक्रमणको जोखिम कम नभएका कारण, विद्यालय, सिनेमा हललगायतका धेरै भीडभाड हुने स्थान भने तत्काल खुल्ला नहुने बताएको छ ।

सरकारले गएको १० चैतबाट अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन रोकेको थियो भने ११ चैतबाट लकडाउन गरेको थियो । त्यसयता पटक पटक लकडाउनको समय थप हुँदै आएको थियो ।

पछिल्लो पटक थपिएको लकडाउन ३२ जेठसम्म कायम छ । सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा चल्ने दिने भएको छ । मन्त्रिपरिषद् बैठकले पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निर्णय गरेको हो । यसबारे बिहीबार आधिकारिक सूचना जारी हुने एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् निर्णयअनुसार काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा स्थानीय प्रशासनको मूल्यांकनअनुसार पसल व्यवसाय सञ्चालन गर्न सकिने भएको छ । औपचारिक निर्णय आएपछि यो लागू हुनेछ ।

गृह मन्त्रालयले तयार गरेको सुरक्षा र स्वास्थ्य मन्त्रालयले तयार गरेको स्वास्थ्य मापदण्ड सबैले पालना गर्नुपर्ने छ । ट्याक्सी, लामो रुटका गाडी, हवाईजहाजको सम्बन्धमा भने कुनै निर्णय भएको छैन । ‘अहिलेको निर्णयमा यी क्षेत्र परेका छैनन्, स्थिति मूल्यांकन गरेर ती पनि क्रमशः खुल्छन्,’ ती मन्त्री भन्छन् ।

कुन व्यवसाय कसरी खोल्ने, चलाउने र त्यसको मापदण्ड के हुने भन्ने जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि एवं अर्थमन्त्री युवराज खतिवडाले आज (बिहीबार) आधिकारिक रूपमा सार्वजनिक गर्दैछन् । मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रीहरूबाट आएको सुझावलाई एकत्रित गर्नुपर्ने भएकाले आधिकारिक निर्णय बिहीबार सार्वजनिक गर्न लागिएको हो ।

कतिपय जिल्लामा जोखिमको मात्रा धेरै भएकाले त्यहाँको अवस्था मूल्यांकन गरेर सम्बन्धित जिल्लाबाटै अतिरिक्त आदेश जारी गरिने भएको छ । कम जोखिम र संक्रमितको संख्या थोरै भएका ठाउँमा भने अब आन्तरिक गतिविधि थप खुकुलो हुनेछ ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार