
३० जेठ । सरकारले विदेशमा रहेका नेपालीलाई घर फर्किने वातावरण बनाएको छ । तर, हवाई भाडा निकै महँगो निर्धारण गरेर ।
संयुक्त अरब इमिरेट्स युएई, मलेसिया, साउदी अरेविया, कतार लगायत २३ देशमा अलपत्र परेका २५ हजार नेपालीलाई जेठ ३२ बाट उद्दार गर्ने गरी उडान तालिका र विमान टिकट शुल्क सार्वजनिक भयो ।

अहिले तोकिएका भाडा लक्षित वर्गले व्यहोर्न नसक्ने भन्दै विदेशमा अलपत्र नेपालीहरु निराश भएका छन् ।
रोजगारी गुमेका, स्वास्थ्य उपचार नपाएका, भिसा सकिएर अलपत्र परेका तथा गाँस बासकै समस्या परेका नेपालीको उद्दार गर्ने भनिए पनि सरकारले सार्वजनिक गरेको भाडा दर विमान कम्पनीले सामान्य अवस्थाको भन्दा चार गुणासम्म चर्को छ ।
सामान्य अवस्थाको भाडा दर र सरकारले हाल तोकेको भाड दर
- मलेसिया १८ हजारदेखि २८ हजार रुपैयाँ – अहिले ६३ हजार ४४ रुपैयाँ,
- ओमान २० हजारदेखि ३० हजार रुपैयाँसम्म – अहिले ६१ हजार ८ सय रुपैयाँ,
- साउदी अरेबिया २० हजारदेखि ३० हजार रुपैयाँसम्म – अहिले ७१ हजार रुपैयाँ (दमाम),
- ७६ हजार ३ सय रुपैयाँ (रियाद),
- ९३ हजार ३ सय रुपैयाँ (जेदाह),
- कुवेत १८ हजारदेखि २५ हजार रुपैयाँसम्म–अहिले ६० हजार ६ सय रुपैयाँ,
- बहराइन १८ हजारदेखि २५ हजार रुपैयाँसम्म–अहिले ६० हजार ६ सय रुपैयाँ,
- युएई १८ हजारदेखि २५ हजार रुपैयाँसम्म–अहिले ६० हजार २ सय रुपैयाँ,
- बैंकक २० हजारदेखि २५ हजार रुपैयाँसम्म–अहिले ४७ हजार २ सय ८३ रुपैयाँ,
- दिल्ली सामान्यतया १० हजार रुपैयाँसम्म–अहिले २४ हजार ८ सय ५४ रुपैयाँ,
- जापान ३५ हजार देखि ४५ हजार रुपैयाँसम्म–अहिले १ लाख १३ हजार ३ सय रुपैयाँ
सामान्य अवस्थामा खाडी मुलुकबाट एकतर्फ उडान खर्च ३० हजार भन्दा कम लाग्ने भए पनि सरकारले चार्टर उडानका नाममा एकतर्फी उडानको शुल्क नै ६० हजार भन्दा बढी तोकेको छ ।
रोजगारी गुमाएर गाँसबास नै टुटेका नेपालीलाई स्वदेश फर्काउने नाममा चर्को शुल्क तोक्नु भनेको स्वदेश नफर्क भन्नु सरह रहेको विदेशमा गैर आवाशीय नेपाली संघका आइसीसी सदस्य रमेश भण्डारी र गैर आवसीय नेपाल संघ, साउदी अरेवियाका प्रवक्ता बिष्णुप्रसाद न्यौपाने बताउनु हुन्छ ।
यूएईमा रहेका कतिपय नेपालीहरु खाना र बासको समस्यासँग जुधिरहेका छन् । यी नेपालीहरुले सरकारले तोकेको भाडा कसरी चुकाउन सक्लान् ?
कुवेत, बहराइन, ओमान लगायतका मुलुकबाट अत्यावश्यक अवस्थामा स्वदेश फर्किन खोजिरहेकाहरु समेत सरकारले तोकेको भाडादरका कारण गर्नु कि मर्नुको अवस्थामा रहेको गैर आवसीय नेपाली संघ, ओमनका अध्यक्ष सेवन्त पुर्जा पुन बताउनु हुन्छ ।
रोजगार भिषामा भएका नेपालीलाई स्वदेश फर्काउँदा रोजगारदाता कम्पनी तथा मुलुकले नै खर्च व्यहोर्ने प्रावधान भएकाले टिकट दर महंगो राखेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायल सहप्रवक्ता राजन पौडेलको दाबी छ ।
मन्त्रालयका अनुसार सार्वजनिक भएको भाडादरमा १० प्रतिशत घटेको छ भने अझै घट्न सक्ने बताइएको छ । साथै सरकारले तोकेको भाडा दर निकै महंगो भएको भन्दै ओमन स्थित नेपाली दूतावासले भने कम भाडामै स्वदेश फर्काउने तयारी गरेको छ ।
सरकारले ओमानबाट फर्किन ६१ हजार रुपैयाँ भाडा दर तोकेको थियो तर दूतावासले भने करिब ३४ हजार रुपैयाँमा नै नेपाल फर्काउने भन्दै सुचना जारी गरेको छ । ओमानबाट असार १ गते र ७ गते दुई फलाइटमा ३ सय बढी नेपाल फर्किदै छन् ।



