कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

वडाध्यक्षले मन्त्र पढे, सीता र कृष्णले गरे क्वारेन्टाइनमै बिहे

दाङ — घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा रहेका एक जोडीले विवाह गरेका छन् । वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै मन्त्रोच्चारण गरेर विवाह गराइदिएका हुन्

घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका-५ जवरपुरकी २१ वर्षीया सीता चौधरीबीच जेठ ३२ गते राति १०:३० बजे विवाह गराइदिएको वडाध्यक्ष अर्यालले बताए । क्वारेन्टाइनमा बसेको २२ दिन पुगेपछि स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको र त्यसै दिन विवाह गराइदिएको उनले बताए ।

‘उनीहरु घर छोडेर भारत गएको असारमा ९ महिना पुग्दैरैछ । ९ महिना पुगेपछि असारमा विवाह गर्न नमिल्ने विश्वास भएकाले जेठभित्रै रातारात विवाह गराइदिनुपर्ने भयो,’ उनले भने, ‘मन्दिरमा गएर विवाह गर्ने स्थिति नभएपछि मैले नै मन्त्र पाठ गरेर वरपीपललाई साक्षी राखेर विवाह गराइदिएँ ।’ उनीहरुलाई एक सातासम्म फरकफरक कोठामा अरुसँग नछोइने गरी बस्न अनुरोध गरी पठाएको उनले बताए ।

भारतको नयाँदिल्लीस्थित एरोसिटीमा सात वर्षदेखि होटेलमा काम गर्दै आएका वली र चौधरीबीच फेसबुकबाट चिनजान भएर डेढ वर्षअघि मायाप्रेम बसेको थियो । आठ महिनाअघि वली नेपाल आएर चौधरीलाई लिएर गएका थिए । ‘घरपरिवारले नस्वीकारेका कारण विवाह भएको थिएन । अहिले कोरोनाका कारण नेपाल आएपछि घरमा पनि कुरा भयो,’ वलीले भने, ‘घरपरिवारले मानेपछि क्वारेन्टाइनमै विवाह गर्नुपर्ने भयो । हतारमा सबै प्रक्रिया पुऱ्याउन सकिएन । मन्त्र पढेर सिन्दुर हालियो ।’

वली आठ कक्षा पढ्दापढ्दै भारत गएका थिए । १२ कक्षा पास गरेकी चौधरी मायाप्रेम बसेपछि भारत गएको बताइन् । ‘सल्लाहबाट विवाह हुने अवस्था नदेखेपछि भागेका थियौं । विवाह गर्न पाइएको थिएन,’ उनले भनिन्, ‘अहिले घरमा आएर विवाह गर्न पाइयो । अहिले दुवैतिरका परिवार हामीलाई स्वीकार्न तयार भएपछि खुशी लागेको छ ।’

कोरोना संक्रमणको जोखिमबाट बच्न एक साता छुट्टै बस्नुपर्ने नियम पालना गरिरहेको चौधरीले बताइन् । ‘सबैको सुरक्षाका लागि नियम पालना गर्नुपर्ने भयो । राम्रैसँग विवाह गर्ने विचार थियो तर मिलेन,’ उनले भनिन्, ‘यसैमा भए पनि खुशी भएका छौं ।’ यातायात नचलेका कारण केटीतर्फका परिवार विवाहमा सहभागी हुन पाएनन् । केटातर्फका भने सबै परिवार जुटेर सामाजिक दूरी कायम राखेर विवाह गरेको चौधरीले बताइन् ।

कान्तिपुर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार