
प्लाज्मा थेरापीबाट उपचार गरिएका एक जना कोरोना संक्रमितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा निधन भएको छ ।
धरान–१५ निवासी ६७ वर्षीय वृद्धको निधन भएको प्रतिष्ठानले जनाएको छ । सिकिस्त भएका ती संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइहेको थियो ।
शुक्रबार राति मात्र उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । मृतकलाई एक सातादेखि अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो आएको थियो । उनी उच्च रक्तचापको दीर्घ रोगी रहेका थिए ।
सिकिस्त अवस्था हुँदै गएपछि ३ दिनदेखि प्लाज्मा दाता खोजी गरेर शुक्रबार राति मृतकलाई प्लाज्मा दिइएको थियो ।
वीरगञ्जमा संक्रमित महिलाको मृत्यु
पर्साको वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ की ५६ वर्षीया संक्रमित महिलाको शनिबार बेलुकी मृत्यु भएको हो ।
गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बेलुकी ७ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
कोभिड अस्पतालको आइसियूमा साउन २४ गतेदेखि भर्ना गरिएकी ती महिलाको स्वास्थ्य अवस्थामा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको डाक्टर दिपक कुशवाहाले जानकारी दिए ।
ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ मै उनलाइ कोभिड अस्पतालको आइसीयूमामा भर्ना गरिएको थियो ।
योसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । साउनयतामा मात्रै ३२ जनाको मृत्यु भएको हो । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३६ मध्ये पर्साका २८, बाराका ५ र रौतहटका २ जना हुन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।
नयाँ पेज बाट



