अमेरिकाकाे भिसा पाउन अब सामाजिक सञ्जालको विवरण पनि बुझाउनुपर्ने


एजेन्सी । अब अमेरिका जान चाहनेहरुले भिसा आवेदन गर्दा फेसबुक लगायत सामाजिक सञ्जालकाे विवरण बुझाउनुपर्ने भएकाे छ ।

अमेरिकाकाे विदेश मन्त्रालयले आफ्ना नागरिककाे सुरक्षाप्रति सुधारकाे कदमका रुपमा भन्दै भिसा नीतिमा परिवर्तन गरेकाे जनाएकाे छ । उसले जारी गरेकाे पछिल्लो भिसा नियमावलीमा आवेदकले प्रयाेग गरिरहेका सामाजिक सञ्जालको नाम तथा विवरण, ५ वर्षयताका इमेल ठेगाना र फोन नम्बर अनिवार्य बुझाउनुपर्ने व्यस्था लागू गरेकाे छ ।

भिसा अर्थात्‌ प्रवेशाज्ञा पाउन आवेदन दिने लगभग सबैले नयाँ नियमानुसार अब सामाजिक सञ्जालसम्बन्धी आफ्ना विवरणहरू बुझाउनुपर्ने नीति लागू गरेसँगै वार्षिक रुपमा १४ दशमलब ७ मिलियन मानिस यसबाट प्रभावित हुने जनाइएकाे छ । तर कतिपय कुटनीतिक र सरकारी भिसा आवेदकका लागि भने याे नियम अनिवार्य हुनेछैन ।

गत वर्ष नै प्रस्ताव गरिएको यस्ताे व्यवस्था विशेषगरी अमेरिकामा काम गर्न, बसाेबास गर्न तथा पढ्नका लागि जानेहरुप्रति लक्षित छ । यसअघि पनि आतङ्कवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्थ्यो भने शंका लागेका पनि थप अनुसन्धानका लागि ती विवरण माग गरिन्थ्याे ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘हामीले अमेरिकी नागरिकलाई संरक्षण गर्नका लागि हाम्रो अनुगमन संयन्त्रमा निरन्तर सुधार गर्दै आइरहेका छौं, यसले आधिकारिक रुपमा अमेरिका यात्राका लागि मद्धत पनि गर्नेछ ।’

यसरी विवरण बुझाउँदा कसैले आफूले सामाजिक सञ्जाल प्रयोग गर्ने कुराका बारेमा झूटाे विवरण पेश गरेमा वा बोलेमा गंभीर खालको अध्यागमन सम्बन्धी परिणाम भोग्नुपर्ने नियममा उल्लेख छ । यसका साथै सूचीमा नसमेटिएका अरू ठाउँमा रहेका खाताबारे पनि स्वेच्छिक रूपमा जानकारी गराउनुपर्ने हुन्छ ।

बिबिसीका अनुसार, ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा पहिलो पटक त्यस्ता नीतिबारे प्रस्ताव गरेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनलाई आफ्नो चुनावको एक महत्वपूर्ण पाटो बनाएका थिए । नागरिक अधिकारसम्बन्धी द अमेरिकन सिभिल लिबर्टिज युनियनले “सामाजिक सञ्जालसम्बन्धी यस्ता पर्यवेक्षण प्रभावकारी वा निष्पक्ष भएको कुनै प्रमाण नदेखिएको” जनाएको छ ।

न्युज २४ बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार