कोरोनाबाट ज्यान गुमाएकाहरूको स्मृतिमा चीनमा राष्ट्रिय शोक, प्रधानमन्त्री ओलीद्वारा ऐक्यबद्धता

२२ चैत । कोरोना भाइरस (काेभिड-१९) का कारण निधन भएकाहरूको सम्झनामा चीनले आज (शनिबार) राष्ट्रिय शोक मनाएकाे छ ।

चीनमा संक्रामक रोग कोरोना भाइरसका कारण ज्यान गुमाएकाहरुको सम्मानमा आज देशैभर ३ मिनेट मौनधारण गरेर सम्झना गरिएको हो । जसमा त्यहाँका राष्ट्रपति, सेना, सरकारी अधिकारी तथा नागरिकहरू सहभागी भएका छन् ।

चिनियाँ समाचार एजेन्सीहरुले जनाए अनुसार आज बिहान (स्थानीय समय) १० बजे चीनभरिका सर्वसाधारणहरु उभिएर ३ मिनेट मौनधारण गरेका हुन् । साथै मोटर कार, रेल तथा पानीजहाजहरुले सोही समयमा साइरन बजाएको जनाइएको छ ।

चीनका राष्ट्रपति शी चनिफिङसहित चिनिया कम्युनिष्ट पार्टीका उच्च नेताहरु ली केकियांग, ली झान्शु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी, हान झेङलगायतले बिहान १० बेइजिङस्थित ‘तियनानमेन (Tian’anmen) स्वायर’ मा तीन मिनेट मौन धारण गरेको सिन्ह्वाले जनाएको छ । सो क्रममा उनीहरूले सेता फूलहरू छातीमा टाँसेका थिए भने आधा झुकाइएको राष्ट्रिय झण्डाको अगाडि मौन श्रद्धाञ्जली अर्पण गरे ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनले कोरोना भाइरसका कारण ज्यान गुमाएको स्मृतिमा शोक मनाइरहँदा ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

उहाँले आज एक ट्वीट गर्दै लेख्नुभएको छ, ‘नेपाल सरकार र जनताका तर्फबाट र आफ्नै तर्फबाट म आजको राष्ट्रिय शोक दिवसको अवसरमा कोभिड १९ विरुद्ध लड्न आफ्नो अनमोल जीवन बलिदान दिने वीर नायकहरूको स्मृतिमा चिनियाँ सरकार र जनताप्रति एकता जाहेर गर्दछु ।’

चीनमा काेराेना भाइरसका कारण हालसम्म ३ हजार ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँकाे वुहान शहरबाट सुरू भएकाे साे काेभिड-१९ महामारी अहिले विश्वभरि फैलिएकाे छ । तर चीनले भने महामारी नियन्त्रण गरिसकेकाे जनाएकाे छ ।

न्युज २४ बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार