विदेशमा २८ नेपालीको मृत्यु, १२ सय बढी संक्रमित

काठमाडौं, ७ बैसाख । प्राणघातक कोरोना भाइरस संक्रमणबाट विभिन्न देशमा नेपाली नागरिकको ज्यान जाने र संक्रमित हुने क्रम बढ्दो छ ।

कोरोना भाइरस संक्रमणबाट (हिजो) शनिबारसम्ममा विभिन्न देशमा रहेका २८ नेपालीले ज्यान गुमाइसकेका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोबिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्याङ्कअनुसार बेलायतमा १७, अमेरिका ८, युएई दुई, आयरल्याण्ड एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको एनआरएनएको सचिवालयले जानकारी दिएको छ ।

नेपाल बाहेक विश्वभर एक हजार १६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित रहेको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २१ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित छन् ।

नेपालीहरु कोरोना संक्रमित हुनेमा देशमा अमेरिका ७ सय, युके २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्तुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२, साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, हङकङ १ रहेका छन् ।

विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो आंकडा तयार पारिएको समितिले जनाएको छ ।

बिहीबार साँझसम्म दुई दर्जन भन्दा बढी देशमा १० हजार भन्दा बढी कोरोना पीडितको लागि संघले राहत वितरण गरेको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी गराएका छन् ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार