विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार राति मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। 

अर्जेन्टिना यसअघि मंगलबार राति क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। यसअघि यी दुवै टोलीले समान २ पटक विश्वकप जितेका छन्। 

१९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो। 

अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। १९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो। त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन। 

१९९० र २०१४ मा जर्मनीसँग फाइनलमा पराजित भएको थियो। त्यसअघि पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो। यो सँगै अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल खेल्न लागेको हो। 

फ्रान्स भने यसअघि फाइनलमा एक पटक मात्रै पराजित भएको छ। २००६ मा इटलीसँग पराजित भएको थियो। यो उसको चौथो फाइनल हो। 

विश्वकप फुटबलमा यी दुई टोली तेस्रो पटक भेट भएका हुन्। पहिलो पटक १९७८ मा समूह चरणमा भेट हुँदा अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो। 

गएको विश्वकपमा अन्तिम १६ मा भेट भएका थिए। जसमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो। 

फाइनलसम्म आइपुग्दा यी दुवै टोली एक एक खेलमा पराजित भएका छन्। समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेवियासँग पराजित भएको थियो। समूह चरणकै अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको थियो। 

अन्तिम १६ मा फ्रान्सले पोल्याण्डलाई र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गरेको थियो। क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई पराजित गरेको थियो। अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई हराएको थियो। 

सेमिफाइनलमा भने दुवै टोलीले एउटै समूहबाट आएका राष्ट्रसँग पराजित गरेका हुन्। समूह एफमा रहेका मोरक्को र क्रोएसियाले समूह चरणको पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए। 

जारी विश्वकप फुटबलमा यी दुवै टोलीका ४ फरवार्ड गोल्डेनबुटको दाबेदार समेत छन्। अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एम्बाप्पेले समान ५ गोल गर्दा फ्रान्सका जिरुड र अर्जेन्टिनाका अल्भारेजले समान ४ गोल गरेका छन्। 

मेस्सी र एम्बाप्पे व्यावसायिक फुटबल भने एउटै क्लब पीएसजीबाट खेल्छन्। नेपाल खबर

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार